नेभिगेशन
शनिबार, भदौ २७, २०८३

भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्वतयारी सञ्जाल नेपालको भनाई

काठमाण्डौ – परिवर्तनशील हिमाली जलवायुका कारण विपद्को जोखिम बढेको भन्दै प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट नेपाल) ले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ । संस्थाले विपद्पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

डिपिनेट नेपालले सरकार तथा सरोकारवाला समक्ष विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोशी बाढीको तत्काल स्वतन्त्र, वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ । यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाणपूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापना प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहु–विपद् पूर्वसूचना प्रणाली, तथ्याङ्क आदानप्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ ।

यसका साथै, संस्थाले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि गम्भीर प्रभाव भोगिरहेका देशका लागि जलवायु न्याय र पारदर्शी जलवायु वित्त सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति:
थप समाज