नेभिगेशन
आइतबार, भदौ २८, २०८३

कपिलवस्तुको वाणगंगा नदीमा फसेका १२ जनाको उद्धार

काठमाण्डौ –  कपिलवस्तुको वाणगंगा नदीमा बाढी आएपछि फसेका १२ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सकुशल उद्धार गरिएकामा ११ जना महिला र एक जना पुरुष रहेका सशस्त्र प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका–६, बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि वाणगंगा नदीमा एक्कासि बाढी आउँदा फसेका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर, कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो । यसैबीच बाणगङ्गा नदीमै पौडी खेल्नेक्रममा हराएका एक बालकको खोजी भैरहेको छ ।

बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार १६ वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भैरहेको छ ।

मनसुन कायमै रहेकाले पहाडी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा एक्कासि सतह बढ्ने र बाढी आउन सक्ने जोखिम हुने भएकाले स्थानीयबासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज