नेभिगेशन
सोमबार, भदौ २९, २०८३

मुस्ताङमा हुन लागेको घरपझोङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौ - हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

सम्मेलनमा सहभागीताका लागि आयोजक घरपझोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो । सम्मेलनमा ४२० भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो ।

सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ । जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्‍याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारण तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन् । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । साझा पृथ्वी, साझा दायित्व ः जलवायु न्यायमा सामूहिक ऐक्यवद्धता’ साथै खबरदारीका लागि सम्मेलन महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुहुनेछ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ । दुई दिने सम्मेलनले घरपझोङ घोषणापत्र जारी गर्नेछ । गएको भदौ १० गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो । 

प्रकाशित मिति:
थप समाज