नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह घट्यो

काठमाण्डौ – भक्तपुर र काठमाण्डौको सिमाना भएर बग्ने मनोहरा खोलामा गएराति बाढी आएको छ ।

खोलामा पानीको बहाव बढेपछि स्थानीयबासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो ।

खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरु बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन् । चाँगुनारायणको नगरकोट, काठमाण्डौको साँखुलगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ ।

राति ९ बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो । साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो । सरकारले मनोहरा सुकुमवासी बस्ती यसअघि नै हटाइसकेको छ ।

जडीबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो । अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ । 

प्रकाशित मिति:
थप समाज