नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

मनाङका हिमतालको जोखिममा मस्र्याङ्दी नदी करिडोर

काठमाण्डौ – मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ ।

भोटेकोशीमा आएको बाढीले नेपालका हिमतालको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरी आवश्यक पूर्वतयारीका लागि पाठ सिकाएको छ । मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मस्र्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिन्छ ।

मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी) हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो ।

ती अध्ययन केही वर्षअघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के–कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ ? भन्नेबारे थप अध्ययन आवश्यक रहेको सम्बन्धित पालिका र हिमताल विज्ञले बताएका छन् । नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमतालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ ।

ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने देखिन्छ । बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्नेमा उहाँको जोड छ ।

हिमतालबारेका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अहिलको अवस्था बढेको वा घटेकोबारेमा स्थलगत अध्ययन नगरी यकिन भन्न सकिने अवस्था नरहेको  बताउनु भयो । हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरी त्रिशूली नदीमा मिसिन्छ । त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ ।      

प्रकाशित मिति:
थप समाज