नेभिगेशन
बिहीबार, असोज १, २०८३

२ महिनामा सरकारको आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै देखिएकाे छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यकाे ९.४१ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ खर्च गर्दा राजस्व वार्षिक लक्ष्यको ११.५८ प्रतिशत अर्थात् १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ मात्र सङ्कलन भएकाे छ ।

कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिले ९.६ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालू आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको हो ।

त्यस्तै पूँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म वार्षिक लक्ष्यको १.७८ प्रतिशत अर्थात् ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ खर्च भएकाे कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च १६.५९ प्रतिशत छ । यो शीर्षकमा चालू आर्थिक वर्षका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

कर राजस्वतर्फ चालू आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२.२९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म ६.९ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ उठेको छ ।

चालू आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८.९६ प्रतिशत अर्थात् ५ अर्ब ५३ करोड रुपैयाँ बराबर भित्रिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ