नेभिगेशन
शनिबार, असोज ३, २०८३

जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मनास्लुमा आमरण अनसन

काठमाण्डौ - जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरु गरेका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामा गाउँका दावा नोर्वु लामासहित ११ युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित आठ बुँदे माग राख्दै हिजोदेखि मनास्लु आधार शिविरमा आमरण अनसन शुरु गरेका हुन् । उनीहरूले मनास्लु बेसक्याम्पभन्दा माथि चार हजार ९०० मिटर उचाइमा अनसन थालेका छन् । 

माग पत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ । मनास्लुको फेदमा वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्नसमेत माग गरिएको छ । ती ताल र नदीमा पानीको जल सतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ । 

नेपाल र चीनका सीमावर्ती क्षेत्रमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रूपमा अध्ययन, अनुगमन गर्न, हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जल सतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्नेलगायत युवाहरूको माग छ । 

आठ बुँदे माग केही दिनअघि प्रमुख जिल्ला अधिकारी, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय एकाइ कार्यालय र सामा गाउँ प्रहरी चौकीमा समेत पेस गरिएको अनसनरत युवा दावा नोर्वु लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज