नेभिगेशन
सोमबार, असोज ५, २०८३

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले निकालेको तीन दिने बुलेटिनअनुसार आजदेखि पर्सिसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँ; भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक–दुई ठाउँ र पर्सि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आउँदाे बिहीवारदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्हरूले यसअघिदेखि नै भन्दै आएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।

महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अद्यावधिक गर्दै उल्लेख गरेको छ ।

मौसमसम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमसम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह छ ।

1-1789961394.jpg

प्रकाशित मिति:
थप समाज