नेभिगेशन
मंगलबार, असोज ६, २०८३

डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार

काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।

डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो सोमबार नियमित शेयर कारोबार स्थगित गरेको थियो । नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन यही असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिनुभयो ।

प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ । बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनका आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ ।

बोर्डका प्रवक्ता घिमिरेले धितोपत्र बजारको कारोबार प्रणालीको विश्वसनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्राविधिक जोखिमको पहिचान तथा न्यूनीकरणका लागि आवश्यक कदम अघि बढाइने जानकारी दिनुभयो ।    

 
 

प्रकाशित मिति:
थप अर्थ