नेभिगेशन
बिहीबार, असोज ८, २०८३

सरकारले असोज १४ गतेदेखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला गर्ने

काठमाण्डौ - सरकारले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट ‘सीप तथा रोजगार मेला’ राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । 

युवा, श्रम तथा रोजगार मन्त्रालयले आउँदो असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा ७ दिने मेला आयोजना गर्न लागेको हो । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सिर्जना गर्ने नीतिअनुसार मेला आयोजना गरिएको बताउनुभयो । 

यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सीप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सीप विकासको अवसर प्रदान गर्ने र सीप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको मागअनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको दाबी गर्नुभयो । 

इटहरीमा उद्योग, कृषि, निर्माण र सेवासहित १० विधाका ६५ वटा स्टल रहने मेला क्रमशः सातै प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारदाता र श्रमिकबीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको बताउनुभयो । 

चालु आर्थिक वर्षभित्र एक लाख युवालाई 'जब म्याचिङ’ मार्फत रोजगारीमा जोड्ने लक्ष्य रहेको जानकारी दिँदै उहाँले नीतिगत सुधारको कामसमेत अघि बढाइएको उल्लेख गर्नुभयो ।  

प्रकाशित मिति:
थप समाज