नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

काठमाण्डाै – लगातारकाे वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सडकहरू प्रभावित हुन थालेका छन् ।

काठमाण्डौ प्रवेश गर्नेमध्येको एउटा सडक कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै मुख्य दुई सडक पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन् ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज राति ८ देखि भोलि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिन रातिको समयमा गाडी चलाउन पाइने छैन । मनसुन प्रतिकार्य कमान्ड पाेस्ट काभ्रेको निर्णयअनुसार आजदेखि १२ गतेसम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ ।

यसैगरी सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा आज बेलुकी ७ देखि असोज ११ गते बिहान ५ बजेसम्म रातिको समयमा गाडी चलाउन पूर्ण रोक लगाइएको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यी सडक खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो ।

प्रकाशित मिति:
थप समाज