नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

धानलगायतका बाली संरक्षणमा विशेष ध्यान दिन कृषि विभागको आग्रह

काठमाण्डौ – ठूलो वर्षा र हुरीबतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुनसक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धानलगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको हो । भित्र्याउन तयार भएको धान केही दिन पर्खेर मात्र काट्न, काटेर भित्र्याउन बाँकी धानलाई हावा खेल्ने स्थानमा राख्न तथा धानखेतमा जमेको पानी निकासका लागि आवश्यक प्रबन्ध गर्न विभागले किसानलाई सूचित गरेको छ ।

भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्नसमेत आग्रह गरिएको विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । उच्चपहाडी क्षेत्रमा भाँच्ने बेला भएको मकै तत्काल भाँचेर ओतमा राख्न र हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ ।

गोठ तथा खोरका छाना हुरीबतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न तथा पशुचौपायालाई अग्लो र सुरक्षित ठाउँमा सार्न कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने बुलेटिनका आधारमा किसानलाई आवश्यक सूचना तथा सन्देश प्रवाह गरिने केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो ।  

प्रकाशित मिति:
थप समाज