काठमाण्डौ — काठमाण्डौ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ । वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग जोडिएको इन्द्रजात्रा हिन्दु तथा बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो ।
जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राका मुख्य विशेषता हुन् । मूलतः वर्षा, सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो ।
वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दु तथा बौद्ध दुवै धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । पौराणिक मान्यताअनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान् विष्णुसँग सहायता मागेका थिए । त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका रूपमा ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ । त्यसयता इन्द्रध्वज पूजालाई समृद्धि, शत्रुबाट सुरक्षा र विजयसँग सम्बन्धित अनुष्ठानका रूपमा मानिँदै आएको छ ।
वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा
इन्द्रजात्राका अवसरमा आज काठमाण्डौको वसन्तपुरमा गणेश, भैरव र कुमारीको रथयात्रा निकालेर नगर परिक्रमा गरिँदैछ ।कुमारीघरबाट शुरु हुने रथयात्रा मरुटोल, चिकंमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेनस्थान र हनुमानढोका हुँदै पुनः कुमारीघर अगाडि पुगेर पहिलो दिनको रथयात्रा पूरा गर्ने परम्परा छ ।
परम्परागत रूपमा मनाइँदै आएको इन्द्रजात्रामा विभिन्न समुदायले पञ्चेबाजा, नगरा बाजा, सनइ बाजा, टेम्पो बाजा र धिमे बाजा बजाउने गरेका छन्। यसपालि म्वाली बाजा पनि बजाउने तयारी गरिएको छ ।
यसैगरी नेवारी परम्परागत भेषभूषामा सजिएर नाचगान गर्दै कुमारी जात्रा मनाइँदैछ । परम्पराअनुसार आज तल्लो टोलमा रथ तानेर लगिन्छ भने भोलि माथिल्लो टोलमा रथ तान्ने गरिन्छ ।
येँन्या जात्राभर भक्कुनाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रस्तुत गरी पर्व मनाइन्छ ।
यस पर्वका अवसरमा इन्द्र, भैरव, गणेश, कुमारी तथा विष्णुका विभिन्न रूप र अन्य देवीदेवतासँग सम्बन्धित पूजाआजा तथा सांस्कृतिक प्रस्तुतिहरू पनि एकै ठाउँमा देख्न पाइन्छ ।
येँन्याका अवसरमा घरघरमा समयबजी
काठमाण्डौ उपत्यकाका नेवार समुदायले येँन्याका अवसरमा आज घरघरमा समयबजी बनाएर खाने र खुवाउने परम्परा छ । पारिवारिक तथा सामाजिक मिलनका रूपमा साताव्यापी मनाइने येँन्याका अवसरमा आफन्त, साथीभाइ र पाहुनालाई घरमा बोलाएर समयबजी खुवाउने र रमाइलो गर्ने चलन छ । काठमाण्डौका सडक तथा गल्लीमा पनि सामूहिक रूपमा विशाल समयबजी बनाएर सर्वसाधारणलाई प्रसादका रूपमा वितरण गरिन्छ ।
समयबजी एउटा परिकार मात्र नभई विभिन्न पौष्टिक तत्व मिलेर बनेको परम्परागत तथा सन्तुलित नेवारी भोजनका रूपमा लिइन्छ । येँन्याअन्तर्गत इन्द्रजात्राका समयमा कुलदेवता, दियो तथा जीवित देवी कुमारी, गणेश र भैरवलाई समयबजी चढाउने गरिन्छ ।
नेवार संस्कृतिमा समयबजीलाई शुभकार्य र चाडपर्वमा सगुनका रूपमा तथा तान्त्रिक विधिअनुसार पञ्चमकारको प्रतीकका रूपमा समेत मान्ने गरिन्छ ।