नेभिगेशन
शनिबार, असोज १०, २०८३

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा गाडी चलाउन रोक

काठमाण्डौ - लगातारको वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन् ।

कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लामा आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गएका गाडीलाई बीच बाटोबाटै फर्काएको छ ।

यसैबीच, अस्ति बिहीबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ । सडक विभागका अनुसार बाढी र पहिरोका कारण राजधानी काठमाण्डाै जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गसहित देशभरका ११ वटा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् ।

पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला र फिस्लिङलगायतका ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प छ । यसै गरी बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्यपहाडी, कर्णाली, सिद्धिचरण, तमोर कोरिडोर र राप्ती राजमार्गका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन् ।

सडक विभागले अवरुद्ध सडकहरूमा पहिरो पन्छाउने तथा मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ । प्रशासनले बाढी पहिरोको उच्च जोखिम कायम रहेको भन्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज