नेभिगेशन
शनिबार, असोज १०, २०८३

मौसम पूर्वी नेपालतर्फ क्रमशः सुधार, पश्चिमी क्षेत्रमा भोलिसम्म प्रभाव रहने

काठमाण्डौ – नेपालीको पूर्वी क्षेत्रमा बदली र वर्षा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।

मौसम विज्ञान विभागकाअनुसार भोलिसम्म पश्चिम नेपालमा मुसलधारे वर्षाको सम्भावना छ । मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा भइरहेको छ ।

वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ । भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्यून चापीय प्रणाली बिस्तारै नेपालतर्फ सर्दै गएको उहाँले बताउनुभयो ।

यसको प्रभाव विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने मौसमविद् लामिछानेको भनाई छ ।

उहाँकाअनुसार भोलि दिउँसोसम्म बागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा मुसलधारे वर्षा हुनसक्ने उहाँले बताउनुभयो ।

पूर्वी नेपालतर्फ पनि केही ठाउँमा मध्यम वर्षा हुने भएकोले अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँको सुझाव छ ।

लामिछानेकाअनुसार पर्सि सोमवारदेखि भने देशभर मौसममा सुधार आउने सम्भावना छ । त्यसपछि मात्रै नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन उहाँले आग्रह गर्नुभयो ।  

प्रकाशित मिति:
थप समाज