नेभिगेशन
सोमबार, असोज १२, २०८३

काठमाण्डौमा हुस्सु, देशभर झरी रोकियोे

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज बिहान हुस्सु लागेको छ । लगातारको झरी रोकिएपछिको पहिलो बिहान हुस्सु लागेको हो । हुस्सु लागेसँगै चिसो पनि बढेको छ । हुस्सु केहीबेरमा हट्ने र मौसम घमाइलो हुने मौसमविदले बताएका छन् ।

झरी रोकिएलगत्तै काठमाण्डौमा हिजैदेखि घाम लाग्न थालेको छ । देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरु भएको झरी पनि गएरातिदेखि रोकिएको छ । पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातिदेखि रोकिएको हो ।

पूर्वमा हिजो बिहानदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो । पानी पर्न रोकिए पनि हिजो बाढी आएका नदी खोलाहरुमा अझै जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम छ । आज देशका हिमाल र पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।


 

प्रकाशित मिति:
थप समाज