नेभिगेशन
मंगलबार, असोज १३, २०८३

बीपी राजमार्गमा साना गाडी एकतर्फी चल्न थाले, कान्ति लोकपथ पनि खुल्यो

काठमाण्डाै – अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्गमा साना गाडी एकतर्फी रूपमा चल्न थालेका छन् ।

बाढीले सडक तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्छाएपछि गाडी एकतर्फी चल्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका–६ को चौकीडाँडा, रोशी गाउँपालिका–७ को कटुञ्जे तथा चारसयबेँसी, वडा नम्बर ८ को गिम्दीबेँसी र वडा नम्बर ११ को माम्ती क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

चौकीडाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाडी सञ्चालन गरिएको छ ।

सडक खुले पनि नदीको बहाव र सडकको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यस्तै अविरल वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि पूर्ण रूपमा बन्द रहेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

वर्षाले सडकका विभिन्न ठाउँमा पहिरो गएपछि काठमाण्डौ–हेटौँडा जोड्ने यो मार्ग अवरुद्ध भएको थियो ।

यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर, टिङ्ग्राङखानी, परेवाभीर र बाँगेमोड क्षेत्रमा सडक अवरुद्ध छ ।

यसैबीच सडक अवरुद्ध भएर काठमाण्डौमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन् । काठमाण्डौको कलङ्की, बल्खु तथा भक्तपुरको सूर्यविनायक लगायतका क्षेत्रमा गाडीको चाप बढेको छ ।

प्रकाशित मिति:
थप समाज