नेभिगेशन
बुधबार, असोज १४, २०८३

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

काठमाण्डौ – देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छ ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ ।

विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रधानमन्त्री, पर्यटनमन्त्री, सङ्घीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकायसमक्ष ज्ञापनपत्र, छलफल, धर्ना र आन्दोलनमार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीको गुनासो छ ।

राज्यले झण्डै ३५ अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानीसमेत जोखिममा परेको व्यवसायी बताउँछन् ।

पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानीभन्दा दोब्बर बढी छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको बताउनुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रुपन्देहीका पर्यटन तथा उद्योग व्यवसायीले विमानस्थल सञ्चालनको विषय प्राथमिकतामा राखेर उठाउँदै आएका छन् ।

प्रकाशित मिति:
थप समाज