नेभिगेशन
बुधबार, असोज १४, २०८३

बाढी पहिरोले अवरुद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा

काठमाण्डाै – सङ्घीय राजधानी काठमाण्डौलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन् । लगातारको वर्षापछिको बाढी पहिरोले अवरुद्ध दुवै राजमार्गअन्तर्गतका विभिन्न खण्डको मर्मतपछि नियमित गाडी सञ्चालन हुन थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहकसहित सबै गाडी चल्न थालेका छन् । जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ ।

यस्तै पहिरो र लेदो हटाउनुको साथै रोशी खोलाको बाढीले भत्काएको ठाउँहरूमा मर्मत गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ ।

सङ्घीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डेबेसीदेखि नेपालथोकसम्म २५ किलोमिटर सडक अवरुद्ध भएको थियो । बीपी राजमार्गका चौकीडाँडा, रोशी गाउँपालिकाका घुमाउने र एक नम्बर पुल आसपास सडक बगेकाले थोरी ठाउँमा एकतर्फी गाडी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले जनाएको छ ।

सङ्घीय राजधानी पूर्वको अर्को सडक अरनिको राजमार्गको धुलिखेल नगरपालिका–८ जिपलाइनमा अवरोध भएको सडकमा पनि एकतर्फी गाडी चल्न थालेको छ ।

मुस्ताङको बेनी–जोमसोम सडक खण्ड भने अझै अवरुद्ध छ । पोखरेबगरसहितका क्षेत्रमा सडक खुलाउने काम भइरहेको छ ।

मनाङको बेसीशहर–चामे सडकअन्तर्गत धारापानीको कोत्रो, तिवाङ र चामे आसपास सडक अवरुद्ध छ । चामेभन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाइको काम भइरहेको छ । सडक खुलाउन २–३  दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज