नेभिगेशन
बिहीबार, असोज १५, २०८३

एशियाली खेलकुद : पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज दिउँसो काठमाण्डौ आइपुगेको हो ।

नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहतासहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।

नेपाली टोली २ दिनअघि नै स्वदेश फर्किने तालिका थियो तर थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा उतै रोकिन पुग्यो ।

एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमिफाइनलमा पुग्दै कांस्य पदक जितेको थियो । थाइल्यान्ड र श्रीलङ्कालाई हराउँदै नेपाली टोली सेमिफाइलनमा पुगेको थियो । तर नेपाल सेमिफाइनलमा भारतसँग पराजित भयो ।

नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा भएको १९औँ संस्करणको एशियाली खेलकुदमा पनि कांस्य पदक जितेको थियो ।

यसैबीच जापानको दुई फरक शहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली गएराति स्वदेश फर्किएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद