नेभिगेशन
बिहीबार, असोज १५, २०८३

काठमाण्डौ उपत्यका बाहिरिने र भित्रिने सबै सडकमा नियमित गाडी सञ्चालन

काठमाण्डौ – काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने सबै सडकमा नियमित गाडी चलिरहेका छन् ।

बाढीपहिरोका कारण बन्द रहेका सडकमा हिजोदेखि गाडी चल्न थालेका हुन् । धादिङको पृथ्वी राजमार्गअन्तर्गत चालिसेमा गएराति सामान्य पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेको र सडक पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यसअघि पनि पृथ्वी राजमार्गअन्तर्गत धादिङका कृष्णभीर, परेवाभीर, बाँगेमोड, ज्यामिरेघाट, चालिसेलगायतका क्षेत्रमा पहिरो र सडकमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो ।

सडक विभाग र स्थानीय प्रशासनको सक्रियतामा अवरोध हटाएपछि पृथ्वी राजमार्गमा यातायात क्रमशः सहज बन्दै गएको हो । यस्तै, काठमाण्डौलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आइसकेको छ । 

बीपी राजमार्ग पनि बाढीले क्षति पुर्‍याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्थामार्फत सञ्चालनमा ल्याइएको छ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पनि नियमित गाडी चलिरहेका छन् । 

प्रकाशित मिति:
थप समाज