नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

बाँध भत्किएपछि जलेश्वर जलमग्न

काठमाण्डौ – रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

बलवा नगरपालिका–वञ्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको हो ।

गएको मंगलबार भत्किएको बाँधबाट पानी बस्ती र खेततर्फ पस्दै अस्ति बुधवार बेलुकीदेखि जलेश्वरमा प्रवेश गरेको थियो । पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ ।

जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म सडकमा पानी जमेको छ । बाढीका कारण गाडी चलाउन तथा पैदल हिँडडुलमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

बाँध भत्किँदा महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबालीमा क्षति पुगेको छ । किसानका अनुसार बाढीले काट्ने बेलाको धान ढलाएर नोक्सान गरेको छ ।

स्थानीयका अनुसार वञ्चौरी क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ । गएको वर्ष पनि त्यही क्षेत्रमा बाँध भत्किएपछि जलेश्वर डुबानमा परेको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढी नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मर्मतसम्भार गर्ने र जलेश्वरको पुछारबाट पानी निकास गर्ने काम थालिएको छ ।

प्रकाशित मिति:
थप समाज