नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

बाढीको पूर्वसूचना दिने परम्परागत शैली बदल्न सुझाव

काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपद्का लागि परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने बताउनुभएको छ ।

काठमाण्डौमा हिजो भएको ‘परिवर्तनशील हिमालयमा जल सुरक्षा’ विषयक उच्चस्तरीय संवादमा उहाँले बाढी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाइका कारण पनि पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो ।

भदौ १० गते भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपद्लाई ‘हिमाली सुनामी’को संज्ञा दिनुभयो ।

पूर्वसूचनाले खतरा आउँदैछ भन्ने जानकारी मात्र नभई त्यसको गम्भीरता बुझाएर मानिसलाई समयमै सुरक्षित ठाउँमा पुग्न र सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतमा परिचालन हुनसक्ने बनाउनुपर्ने उहाँको भनाइ छ ।

संवादमा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका महानिर्देशक डा. मार्क स्मिथले पानी खाद्य, ऊर्जा, जनस्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएकाले एकीकृत र वैज्ञानिक पानी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शम्सीले हिमनदी पग्लने, अनियमित मनसुन र हिमनदी विस्फोटका जोखिम नेपालका लागि भविष्यको मात्र नभई वर्तमान चुनौती बनिसकेको बताउनुभयो । 

प्रकाशित मिति:
थप समाज