नेभिगेशन
सोमबार, असोज १९, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा शुरू

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डाैकाे खुलामञ्चमा शुरू भएको छ । आउँदो २२ गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै ७ हजार ७०० जना प्रतिनिधि सहभागी हुँदैछन् ।

कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो सङ्ख्यामा प्रतिनिधिले भाग लिइरहेका छन् । उद्घाटन सत्रसँगै बन्दसत्र पनि खुलामञ्चमै हुनेछ ।

प्रतिनिधिको व्यवस्थापनका लागि खुलामञ्चमा हिमाल, पहाड र तराई–मधेश नामका ३ वटा ठूला हल निर्माण गरिएका छन् जहाँ प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ ।

भर्खरैको प्राकृतिक विपद्प्रति ऐक्यबद्धता जनाउँदै यस पटक प्रचारशैलीलाई पूर्णरूपमा मितव्ययी र वातावरणमैत्री बनाएको कांग्रेसले जनाएको छ । भौतिक ब्यानर तथा पर्चा पूर्णरूपमा निषेध गरी शहरका १०० भन्दा धेरै डिजिटल बोर्डबाट मात्र सूचना प्रवाह गरिएको छ ।

यस पटकको महाधिवेशनले २३२ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ । विधान संशोधनमार्फत ३५ वर्षमुनिका युवा, महिलाको एकतिहाइ प्रतिनिधित्व र विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गरिएको छ ।

निर्वाचन तालिकाअनुसार भोलि राष्ट्रियसभा गृहमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । प्रतिनिधिको सुविधाका लागि तोकिएको क्षेत्रमा आवास, निःशुल्क पार्किङ र ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कको समेत भरपर्दो प्रबन्ध मिलाएको कांग्रेसले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसले पदाधिकारीको सङ्ख्या १७ बाट बढाएर २१ पुर्‍याउने प्रस्ताव गरेको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्दसत्रमा पेश हुनेछ ।

नयाँ प्रस्तावअनुसार कांग्रेसमा अब १ सभापति, ४ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री र १ कोषाध्यक्ष रहनेछन् । जसमा उपसभापति २ बाट बढाएर ४ पुर्‍याइएको छ भने सहमहामन्त्री ११ बाट बढाएर १३ पुर्‍याइएको छ । चारै जना उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ । उनीहरूमध्ये १ वरिष्ठ र १ महिला अनिवार्य गरिएको छ ।

त्यस्तै ३५ वर्षमुनिका युवालाई केन्द्रीय समितिमा समेट्ने र समग्रमा केन्द्रीय कार्यसमिति २३२ सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ ।

महाधिवेशन प्रतिनिधिबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचनाअनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति:
थप राजनीति