नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डाै – यस वर्षको दशैँमा घर जाने यात्रुका लागि आउँदो शुक्रवार असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले सङ्घीय राजधानी काठमाण्डाैबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चापलाई मध्यनजर गर्दै यो निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्‍याउन अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिनुभएको छ ।

यस वर्ष काठमाण्डाै उपत्यकाबाट झन्डै ९ देखि १० लाख यात्रु बाहिरिने अनुमान छ ।

टिकट बुकिङसँगै यात्रालाई थप सहज बनाउन सरकारले यातायात सेवामा सहजता ल्याउने भएको छ । त्यहीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ । यसले गर्दा काठमाण्डाैबाट पूर्वी, मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने यातायातका साधनलाई आवतजावत गर्न सहज हुनेछ ।

साथै चाडपर्वका बेला सडकमा हुने अत्यधिक भीडभाड र सम्भावित जामलाई ध्यानमा राख्दै विशेष सुरक्षा तथा नियमनको व्यवस्था गरिएको छ । निर्णयअनुसार दशैँको घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–मुग्लिन सडक खण्डमा अत्यावश्यकबाहेकका ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।

साथै बिग्रिएका सडक मर्मत गर्ने, सम्भावित अवरोध तत्काल हटाउने तथा मुख्य नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारीसमेत पूरा भएको सम्बन्धित निकायले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज