नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

आहा रारा पोखरा गोल्डकपको २६ औँ संस्करण माघ पहिलो हप्तादेखि हुने

काठमाण्डौ – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आउँदो माघ पहिलो हप्तादेखि शुरु हुने भएको छ ।

प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यो प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ ।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन् ।

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरणपछि सार्वजनिक गरिने आयोजक सहाराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थितरूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ ।  

आहा रारा गोल्डकप राजधानी काठमाण्डौ बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । जुन २०५८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ ।

सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमबाट फुटबल एकेडेमी सञ्चालन गरेको छ । पोखरा–१७ दोविल्लामा रहेको एकेडेमीमा अहिले देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकहरुले आवाससहित शिक्षा र फुटबलको प्रशिक्षण लिँदै आएका छन् । 

प्रकाशित मिति:
थप खेलकुद