नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

भोलिदेखि शुरु हुने एनपीएलको सबै तयारी पूरा

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।

यसपटकको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । हक–आई प्रविधिमा आधारित यस प्रणालीले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध गराउनेछ । हरेक इनिङ्समा एक टोलीले दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था छ । यसले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई मान्यता दिएपछि यस संस्करणको महत्त्व थप बढेको छ । प्रतियोगितामा यसपटक अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिता पनि रहनेछ ।

अनुभवी विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्ने अपेक्षा छ । प्रतियोगितालाई व्यवस्थित र दर्शकमैत्री बनाउन मैदानमा पनि व्यापक सुधार गरिएको छ ।

मैदानमा झण्डै दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड तथा सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएका छन् ।

प्रतियोगिताका सबै ३२ खेल त्रिवि मैदानमा सञ्चालन हुनेछन् । तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् ।

लिग चरणमा हरेक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछ । लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । 

प्रकाशित मिति:
थप खेलकुद