नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

एनपीएलको अबको संस्करण दुई वा त्यो भन्दा धेरै मैदानमा ‘होम एन्ड अवे’ लागू गर्ने तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को अबको संस्करण दुई वा त्यो भन्दा धेरै मैदानमा ‘होम एन्ड अवे’ लागू गर्ने तयारीसहित छलफल भएको छ ।

एनपीएलको तेस्रो संस्करण गएको शनिवार सकिएको थियो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एनपीएलको अब हुने चौथो संस्करणदेखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने गरी क्रिकेट रङ्गशाला निर्माणको तयारी अघि बढाउन फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग हिजो मंगलवार छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठ वटै फ्रेन्चाइज टोलीका आफ्नै सुविधासम्पन्न रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयनबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो । छलफलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए ।

छलफलमा मन्त्री पोखरेलले एकै पटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा व्यावहारिक योजना बनाएर चरणबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चौथो संस्करणदेखि दुईदेखि तीनवटा मैदानबाट घरेलु तथा बाह्य मैदानमा खेल सञ्चालनको अभ्यास शुरु गरी पाँचौँ र छैटौँ संस्करणसम्म आठवटै टोलीका घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

बैठकमा क्यानका सचिव खड्काले त्रिवि मैदान र मूलपानी मैदानको विस्तृत परियोजना प्रतिवेदन परिमार्जन गरी कम लागतमा कीर्तिपुर, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्र तयार गर्न सकिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

अबको सिजनमा बिहानका खेल मूलपानी र बेलुका हुने खेल फ्लडलाइटमा कीर्तिपुर मैदानमा सञ्चालन गर्न सकिने व्यावहारिक विकल्प पनि प्रस्तुत गरिएको छ । त्यसका लागि कीर्तिपुर मैदानलाई व्यवस्थित बनाउँदै मूलपानी र चितवनका रङ्गशाला निर्माणको काम छिटो सम्पन्न गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

प्रकाशित मिति:
थप खेलकुद