नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

एनपीएलमा अहिलेसम्म भएका खेलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

काठमाण्डौ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म भएका ६ खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हरेक टोलीले कम्तीमा एक खेल खेल्दा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीले टोलीलाई जिताइरहेका छन् । एनपीएलमा अहिलेसम्म ६ वटा खेल भएकामा सबैमा उत्कृष्ट खेलाडी नेपाली नै भएका छन् । आज विश्राम दिन कुनै पनि खेल छैन भने भोलि दुई वटा खेल हुनेछन् ।

एनपीएलको पहिलो उद्घाटन खेलमा साविक उपाधि विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदा लुम्बिनीका शेर मल्ल उत्कृष्ट खेलाडी बनेका थिए । दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई हराउँदा चितवनका कलम ऐरी, तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदा कर्णालीका युनिश ठकुरी उत्कृष्ट खेलाडी बनेका थिए ।

यस्तै चौथो खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई हराउँदा सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, पाँचौँ खेलमा जनकपुरले काठमाण्डौ गोर्खाजलाई हराउँदा जनकपुरका राहुल यादव र छैटौँ खेलमा कर्णालीले विराटनगरलाई हराउँदा कर्णालीका सोमपाल कामी उत्कृष्ट खेलाडी बने ।

यस्तै अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने पहिलो र दोस्रो नम्बरमा पनि नेपाली खेलाडी नै छन् । विराटनगरका लोकेश बमले २ खेलमा १ अर्धशतकसहित ११३ र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २ खेलमा १ अर्धशतकसहित ७८ रन बनाएका छन् ।

यसैगरी अहिलेसम्म सबैभन्दा धेरै विकेट लिने शीर्ष–३ मा पनि नेपाली खेलाडी छन् । जनकपुरका राहुल यादवले ६ तथा कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेलले समान ५ विकेट लिएका छन् ।

८ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।
 

प्रकाशित मिति:
थप खेलकुद