नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

शक्तिशाली एल निनोका कारण भारत र नेपालमा ठूलो वर्षा तथा दक्षिण अमेरिकामा खडेरीको प्रभाव देखिएको छ । यसले धान, मकै, कफी र अन्य प्रमुख बालीको उत्पादन प्रभावित पार्ने जोखिम बढाएपछि आउँदो वर्ष खाद्यान्नको मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने विश्व बैंकले अनुमान गरेको छ ।

भारतको दक्षिणपूर्वी तटमा चक्रवातका कारण कम्तीमा तीन जनाको ज्यान गएको र झन्डै एक लाख मानिस विस्थापित भएका थिए । चक्रवात नेपालतर्फ अघि बढ्दा उच्च हिमाली क्षेत्रमा ठूलो हिमपात र वर्षा भएको थियो ।

बोलिभियामा खडेरीले ७८ हजार परिवार प्रभावित हुनुका साथै ७५ हजारभन्दा धेरै गाईवस्तु मरेपछि राष्ट्रपति रोड्रिगो पाजले आपत्काल घोषणा गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । पेरुमा वन डढेलोका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ ।

सिकागो विश्वविद्यालयको क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार एल निनोका कारण जुनयता विश्वभर गर्मीका कारण थप चार लाख ८४ हजार ५०० जनाको ज्यान गएको अनुमान छ । आउँदो ६ महिनामा थप तीन लाख ७३ हजार जनाको ज्यान जान सक्ने आकलन छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार वर्षा कम हुँदा एशियामा धान तथा मेक्सिको, मध्य अमेरिका र दक्षिणी अफ्रिकामा मकै र सिमीको उत्पादन प्रभावित हुन सक्छ ।

पूर्वी अफ्रिकाका ज्वार र बाजरा तथा अन्य क्षेत्रको गहुँ उत्पादनमा पनि असर पर्न सक्छ । अत्यधिक वा अपर्याप्त वर्षाले कफी र कोकोको उत्पादन तथा गुणस्तर घटाउन सक्छ ।

बाली उत्पादनमा कमी आए खाद्यान्नको अन्तर्राष्ट्रिय मूल्य बढ्नुका साथै आयातमा निर्भर देशको खर्च र किसानको आम्दानी प्रभावित हुने जोखिम छ ।

प्रकाशित मिति:
थप विश्व