नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

अमेरिकाको मध्यावधि चुनावबाट तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण

अमेरिकाको मध्यावधि चुनावको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) मा उल्लेख्य सफलता हात पारेको प्रक्षेपण गरिएको छ ।

यो मतदानबाट डोनाल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको छ । प्रारम्भिक नतिजाले डेमोक्र्याटहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको देखाएका छन् जसले राष्ट्रपति ट्रम्पलाई धक्का पुर्याउन सक्छ ।

अमेरिकाका आधाभन्दा धेरै राज्यहरूमा अहिले मतगणना भइरहेको छ । मध्यावधि चुनावमा तल्लो सदनका सबै ४३५ सीटहरू, माथिल्लो सदनका १०० मध्ये ३५ सीटहरू र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा छ ।

चुनावी नतिजाले कङ्ग्रेसमा कुन दल–ट्रम्पको रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहने छ भन्ने कुरा निर्धारण गर्ने छ । कतिपय मतदाता ट्रम्प र उहाँको पार्टी रिपब्लिकनको विपक्षमा देखिए पनि अहिले नै यकिनरुपमा भन्न हतार हुने बीबीसीले उल्लेख गरेको छ ।

सिनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुनः निर्वाचित हुनुभएको छ । ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा हेरिएको छ ।

अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ । तल्लो सदनलाई ’हाउस अफ रिप्रिजेन्टेटिभ्स’ भनिन्छ भने माथिल्लो सदनलाई ‘सिनेट’ भनिन्छ । तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ ।

सिनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ । अहिले रिपब्लिकन पार्टीको तल्लो सदन (हाउस) र माथिल्लो सदन (सीनेट) दुवैमा पकड छ ।

प्रकाशित मिति:
थप विश्व