नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु गरेको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा किन्नेहरुको लामो लाइन लागेको छ । राष्ट्र बैंकले यसअघि सार्वजनिक सूचना निकालेर बैंकको टक्सार महाशाखा बबरमहलबाट आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री वितरण हुने जानकारी गराएको थियो ।

त्यसअनुसार सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र सिक्का लिन सक्नेछन् । प्रतिव्यक्ति साढे २ ग्राम सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका लक्ष्मी र गणेश अङ्कित सिक्का एक/एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

असर्फी तथा सिक्का खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित आफै उपस्थित हुनुपर्नेछ ।

खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन् । सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन–चाँदीका सिक्का खरिद गर्दा सुन–चाँदीको प्रचलित बजार भाउभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति:
थप अर्थ