नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ !

काठमाण्डौ – बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

नेपालमा नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको २० र भानु नुनको नौ रुपैयाँ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० रुपैयाँदेखि २०० रुपैयाँसम्म पर्ने गरेको छ ।

गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ । मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताउनुभयो ।

आरुघाट र आर्खेतबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य २०० रुपैयाँ पर्ने उहाँले बताउनुभयो । चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयोनुनको १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म तिर्ने गरेका छन् ।

सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ ।

कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर शेरचनले जानकारी दिनुभयो । सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन ।

अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताउनुभयो ।    

प्रकाशित मिति:
थप विशेष