नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

भोटेकोशी–त्रिशूली पुनर्निर्माण : भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर अर्थात् ६ देखि साढे ७ खर्ब रुपैयाँ  जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकसँग कूटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उहाँले पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया शुरू भइसकेको बताउनुभएको हो ।

अर्थमन्त्री वाग्लेले नेपाललाई आवश्यक पर्ने पुनर्निर्माण स्रोतको झन्डै ८० प्रतिशत भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकबाट जुटाउन सकिने अपेक्षा गरिएको जानकारी दिनुभयो । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाउने सरकारको योजना रहेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय परिस्थितिका कारण अनुदान सहायता घट्दै गएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सहुलियतपूर्ण ऋणलाई पनि विवेकपूर्ण ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभयो । नेपालले विगतमा अनुदान सहयोगमा निर्भर रहेर विकास निर्माण अघि बढाए पनि अहिले अनुदानको उपलब्धता निकै खुम्चिएको उहाँको भनाइ छ ।

भारतसँग पुनर्निर्माण तथा विकास निर्माणका लागि विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यससम्बन्धी केही सम्झौता हुन सक्ने अर्थमन्त्री वाग्लेले अपेक्षा व्यक्त गर्नुभयो ।

चीनसँग पनि विपद्पछिको पुनर्निर्माण, अत्याधुनिक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यापारिक नाकाहरूको विकासबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले रसुवा, तातोपानी र कोरला नाकालाई जोड्ने पूर्वाधार विकासका साथै रेलमार्ग, सुरुङमार्ग, भायाडक्ट र आधुनिक भन्सार पूर्वाधार निर्माणका विषयमा चीनसँग संवाद भइरहेको बताउनुभयो । नेपालले चीनसँग जोडिने पुरानै सडक संरचनालाई सामान्य मर्मतमा सीमित नराखी आधुनिक प्रविधिसहितको पूर्वाधार विकास गर्न चाहेको उहाँकाे भनाइ छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप अर्थ