नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

घाेप्टेभीरकाे पहिराे हटाए पनि सडकमा गाडीकाे लामाे लाइन

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडकमा दुईतर्फी गाडी चलिरहेका छन् ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि मलेखु–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा गाडीको लामो लाइन लागेको छ । गाडीको अत्यधिक चापका कारण तिहार मनाउन हिँडेकाहरूले घण्टौँ जाममा परेर सास्ती बेहोर्नुपरेको छ ।

घोप्टेभीरमा गएराति ठूलो सुक्खा पहिरो खसेपछि आज बिहान ८ बजेपछि सडक सञ्चालनमा आएको हो ।

घोप्टेभीरमा निरन्तर सुक्खा पहिरो खस्ने गरेको छ । अस्ति आइतवार र त्यसपछि हिजो पनि पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध थियो । हिजो सफा गरी खुलाएको भए गए राति फेरि पहिरो खस्दा बन्द भएको थियो ।

पटक–पटक सडक अवरुद्ध हुँदा मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रु समस्यामा पर्ने गरेका छन् ।

सडक खुले पनि जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज