नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान

काठमाण्डौ - मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुभएको हो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न भन्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले निकालेको विज्ञप्तिअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आउँदो मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्नुपर्नेछ । गठबन्धनका दुई दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिने कार्यक्रम रहेकोमा विश्वासको मत पाउने सम्भावना नरहेपछि उहाँले प्रदेशसभाको बैठकमा सम्बोधन गरेपछि पदबाट राजीनामा दिनुभएको हो ।

कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गएको असोज २५ गते र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार जना मन्त्रीले कात्तिक २० गते राजीनामा दिएका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा राजीनामा गर्ने यादव ५औँ मुख्यमन्त्री बन्नुभएको छ ।

यसअघि, एमालेका सरोजकुमार यादवले विश्वासको मत लिने क्रममा राजीनामा दिनुभएको थियो । उहाँ अघि जितेन्द्र सोनलले पनि विश्वासको मत लिने क्रममै राजीनामा दिनुभयो । सोनलअघि जनमत पार्टीका सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पद त्याग्नुपर्‍यो भने जसपा नेपालका सरोजकुमार यादव पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त हुनुभयो ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

प्रकाशित मिति:
थप राजनीति