नेभिगेशन
आइतबार, कात्तिक २९, २०८३

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

काठमाण्डौ – रुसमा सम्पन्न ५औँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो पटक रजत पदक जित्न सफल भएका छन् । प्रतियोगितामा नेपालले एक रजत र तीन कांस्यसहित चार पदक जितेको हो ।

रुसको सिरियसमा हिजो सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जितेका छन् । त्यस्तै, ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक हात पारे ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार रजत पदक विजेता रिवाश राईले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन् । अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो ।

यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न ५औँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए । प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जित्नुभएको थियो ।

आलमले जितेको स्वर्ण पदक अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो । पछिल्ला अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले हासिल गरेका यी उपलब्धिले खगोलविज्ञान क्षेत्रमा नेपालको सहभागिता र उपलब्धि थप उत्साहजनक बनेको देखाएको छ ।

प्रकाशित मिति:
थप खेलकुद