नेभिगेशन
मंगलबार, मंसिर १, २०८३

बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडीबीसँग आग्रह

काठमाण्डौ – नेपालले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एशियाली विकास बैंक (एडीबी) लाई सहयोग बढाउन आग्रह गरेको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुनःनिर्माणका चुनौतीलाई सम्बोधन गर्न एडीबीको थप साझेदारी आवश्यक रहेको बताउनुभएको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अवसरमा एडीबीका उपाध्यक्षलगायतसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले भोटेकोशी करिडोरको पुनर्निर्माणमा एडीबीको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले भोटेकोशी बाढीले बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै पुनर्लाभका लागि झण्डै पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले यो विपद् जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरण भएको बताउनुभयो ।

हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले पुनर्निर्माणका क्रममा जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर तथा पूर्वसूचना प्रणालीको विकासमा एडीबीको साझेदारी आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज