नेभिगेशन
मंगलबार, मंसिर १, २०८३

४ महिनामा २३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ७ प्रतिशतमा सीमित

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले वार्षिक बजेटको २३.३७ प्रतिशत मात्रै खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको हो ।

बजेट खर्चमध्ये चालूतर्फ सबैभन्दा धेरै २७.२९ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोडमध्ये ३ खर्ब ४६ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च भने निकै कमजोर देखिएको छ । यसमा ४ खर्ब ३१ अर्ब १० करोड विनियोजन भएकोमा ३२ अर्ब ४४ करोड रुपैयाँ अर्थात् ७.५३ प्रतिशत मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । यो यस शीर्षकमा विनियोजित बजेटको २७.७६ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा ३ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको २३.३९ प्रतिशत हो ।

त्यस्तै सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा पहिलो चौमासिकसम्ममा ३ खर्ब ७२ अर्ब ७१ करोड रुपैयाँ अर्थात् २३.५८ प्रतिशत सङ्कलन भएको छ ।

वैदेशिक अनुदान प्राप्तिको अवस्था भने अझै कमजोर देखिएको छ । यस वर्ष ६१ अर्ब ७४ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकोमा कात्तिक मसान्तसम्ममा ८ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १४.५ प्रतिशत मात्रै प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पहिलो चौमासिकको तथ्याङ्कले सरकारको आम्दानी र खर्चको अवस्था झन्डै समान देखिए पनि विकास निर्माणका लागि छुट्याइएको पूँजीगत बजेट खर्चको गति भने निकै सुस्त रहेको देखाएको छ ।

प्रकाशित मिति:
थप अर्थ