काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म बिजुली आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो ।
प्राधिकरणले आजदेखि आउँदाे साउन १५ गतेसम्म बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक बिजुली आयात गर्न पाउनेछ ।
अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्साेल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट बिजुली आयात हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट बिजुली आयातको अनुमति प्राप्त भएकाले आउँदाे हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताउनुभयो ।
रसुवाकाे भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । हिउँदयामको बिजुली माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
गएके वर्षको बिजुली माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म बिजुली माग आन्तरिक उत्पादनभन्दा धेरै हुने अनुमान छ । यस अवधिमा भारतबाट बिजुली आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर बिजुली आयात गर्नुपर्ने अनुमान छ ।
यस्तै उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म बिजुली आयात गर्नुपर्ने अवस्था रहेको प्राधिकरणकाे अनुमान छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम बिजुली आयात गरे पुग्ने आँकलन छ । आउँदाे वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक बिजुली उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै निर्यात शुरू हुने अनुमान छ ।
५६ मेगावाट बिजुली निर्यात अनुमति
प्राधिकरणले तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट बिजुली भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले आजदेखि आउँदाे साउन १६ गतेसम्म बिजुली निर्यात गर्न पाउनेछ ।