नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३

प्रधानमन्त्रीको भारत भ्रमण : यस्ताे छ पूर्व परराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाण्डाै – पूर्व परराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’ लगायतका मुद्दामा केन्द्रित गर्न सुझाव दिएका छन् ।

नेपाल–भारतबीच लामो समयदेखिको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको हित हुने खालका सम्झौता गर्नुपर्नेमा पूर्व परराष्ट्रमन्त्रीहरूको जोड छ ।

पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको मुख्य चासो र चिन्ता व्यापार घाटा भएकाले भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको बताउनुभयो । त्यसैगरी सीमासँग सम्बन्धित विषय र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ ।

यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वासलाई बलियो बनाउने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । त्यसबाहेक नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा सन् २०१८ मै भारत भ्रमणका क्रममा समझदारी भएको विषय र जलविद्युत् आयोजनाको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ ।

यसैगरी पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विगतमा सरकारले अगाडि बढाउन खोजेका अधुरा कामलाई पूरा गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुहुन्छ । 

काेइरालाका अनुसार आजका लागि महत्त्वपूर्ण विषय हवाईमार्गको हो । नेपालले थप हवाईमार्ग प्राप्त गर्न सकेको खण्डमा दुवै देशलाई फाइदा पुग्ने उहाँको विश्वास छ ।

उहाँका अनुसार नेपालले उठाएका माग र प्रस्तावमध्ये कुन–कुन विषय सम्भव छन् भन्नेबारे पनि आपसी समझदारी आवश्यक छ । साथै सबै पक्षलाई राम्रोसँग बुझेर सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उहाँको भनाइ छ ।

पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई परस्पर विश्वास अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँका अनुसार नेपाल–भारतबीचमा रहेका पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवादलाई समाधान गर्न पनि आवश्यक छ । त्यसबाहेक सुरक्षाका विषयमा एक अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण बनाउन जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा राजनीतिक र नागरिकका दैनिकीसँग जोडिएका दुई वटा विषयलाई छुट्टाछुट्टै रूपमा हेरिनुपर्ने बताउनुहुन्छ ।

उहाँका अनुसार हवाई मार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण छ । त्यसबाहेक विद्युत् व्यापार, ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठान गरिनुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति:
थप राजनीति