नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

पालिका र प्रदेशको चुनाव एकैपटक वा छुट्टाछुट्टै गर्ने भन्नेबारे उच्चस्तरीय संयन्त्रमार्फत सहमति खोजिने

काठमाण्डाै – निर्वाचन आयोग र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूबीच पालिका र प्रदेशको चुनाव एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्नेबारेमा आज छलफल भएको छ । यस विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने नेताहरूले बताएका छन् ।

आज निर्वाचन आयोगमा राजनीतिक दलका नेता र आयोगका पदाधिकारीबीच भएको छलफलमा उच्चस्तरीय संयन्त्रको बैठक बसेर सहमति जुटाउने र त्यसैअनुसार आयोगलाई सुझाव दिनेबारे कुराकानी भएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवम् सांसद जगदीश खरेलले जानकारी दिनुभयो ।

आयोगले आज गरेको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने नेता खरेलले उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले पालिका र प्रदेशसभाको चुनाव एकैपटक वा फरक–फरक समयमा गर्ने भन्ने विषयमा दलका शीर्ष नेताहरूसँग परामर्श गरेको हो ।

छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनको व्यवस्थाभित्र रहेर चुनाव गर्नु उपयुक्त हुने धारणा राख्नुभएको छ । उहाँले पालिकाको चुनाव वैशाखमा र प्रदेशको मङ्सिरमा गर्न उपयुक्त रहेको पनि बताउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले चुनावका लागि वातावरण निर्माण गर्ने कुरामा आयोग आफैँले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो ।

छलफलमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति थापा, नेकपाका संयोजक प्रचण्ड, नेकपा एमालेका देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।

एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आयाेगमा पुग्नुभएको थियो तर उहाँले पार्टीको निर्वाचन विभाग प्रमुख दाहाललाई छलफलमा बस्न भनेर बाहिरिनुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति