नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना : अध्ययन

काठमाण्डौ – जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ । यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै चमेरा, मानिस र घरपालुवा जनावरबीचको सम्पर्क बढाइरहेको छ ।

 चिकित्सा जर्नल ‘द बीएमजे’ मा प्रकाशित अन्तर्राष्ट्रिय समीक्षात्मक अध्ययनमा इबोला, मारबर्ग, निपाह, हेन्द्रा र अस्ट्रेलियन ब्याट लाइसा भाइरस जस्ता चमेराबाट सर्न सक्ने खतरनाक रोगको संक्रमण, रोकथाम र व्यवस्थापनबारे विश्लेषण गरिएको विश्वविद्यालयले जनाएको छ ।  

अध्ययनकी प्रमुख लेखक जेसिका स्ट्यानहोपका अनुसार जलवायु परिवर्तन र वासस्थानको विनाशले चमेराको प्राकृतिक जीवनमा थप दबाब सिर्जना गरिरहेको छ । यसका कारण चमेराहरू सीमित प्राकृतिक वासस्थानमा अनुकूलित हुन बाध्य भइरहेका छन् र मानिससँगको सम्पर्क बढ्न सक्ने अवस्था सिर्जना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अनुसन्धानकर्ताले शहरी क्षेत्रमा रूख कटान र कृषि विस्तारका कारण चमेरा, मानिस तथा पशुधनबीचको सम्पर्क बढ्न सक्ने चेतावनी दिएका छन् । त्यस्तै, अत्यधिक गर्मीले चमेराबाट निस्कने भाइरसको मात्रा बढाउन सक्ने तथा तातो हावाका लहरका कारण चमेराहरू बिरामी पर्ने वा गर्मीका कारण मर्न सक्ने सम्भावना रहेको अध्ययनमा उल्लेख छ ।

भविष्यमा सम्भावित महामारीको जोखिम कम गर्न अनुसन्धानकर्ताहरूले चमेराको प्राकृतिक वासस्थान संरक्षण र पुनःस्थापना, संक्रमित जनावरसँगको सम्पर्क न्यूनीकरण तथा प्रभावकारी खोप र उपचारको विकासमा जोड दिएका छन् ।
 

प्रकाशित मिति:
थप विश्व