नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

जनकपुर अयोध्या रेलले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ अवसर

काठमाण्डौ – जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटनसँगै मिथिलाञ्चलको व्यापार, व्यवसाय र स्थानीय अर्थतन्त्र विस्तारको नयाँ सम्भावना खुलेको छ ।

दुई धार्मिक नगरीलाई रेलमार्गबाट जोड्ने यो सेवाले नेपाल र भारतका तीर्थयात्रीको आवागमन सहज बनाउनुका साथै पर्यटन, होटल, यातायात, हस्तकला र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।

भारतीय रेल्वेले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरिसकेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुुसार झण्डै ६०४ किलोमिटर दूरी तय गर्ने रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख शहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । रेल सेवाका क्रममा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् ।

यसले जनकपुरधाम र अयोध्यालाई मात्र नभई रेलमार्गमा पर्ने विभिन्न सहरका यात्रुलाई समेत फाइदा पुग्नेछ । होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले रेल सम्पर्क विस्तारले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटनसँग जोड्ने अवसर सिर्जना गरेको बताउनुभयो ।

जनकपुरधाम र अयोध्याबीचको धार्मिक सम्बन्धलाई आर्थिक गतिविधिसँग जोड्न सके मिथिलाको कला, संस्कृति, परम्परा, खानपान र स्थानीय उत्पादनको बजारसमेत विस्तार हुन सक्ने पर्यटन व्यवसायीको भनाइ छ । 

प्रकाशित मिति:
थप समाज