नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

पक्राउ गर्न हतकडी लिएर आउनू : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गरेकै आधारमा पक्राउ गर्ने वा राजनीतिक प्रतिशोध साँध्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

पार्टी केन्द्रीय समितिको आजकाे बैठकमा सम्बोधन गर्दै सभापति थापाले सरकारका काममाथि प्रश्न उठाउँदा आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै त्यस्ता धम्कीबाट नडराउने बताउनुभयो ।

पक्राउ गर्ने नै भए हतकडी लिएर आउन सरकारलाई चुनौती दिँदै उहाँले राजाको शासनकालदेखि नै आफूले सत्तालाई प्रश्न गर्दै आएको उल्लेख गर्नुभयो ।

थापाले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबावमा पार्ने प्रयास भइरहेको आरोपसमेत लगाउनुभयो । राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिपक्षीलाई तह लगाउने माध्यम बनाउन नहुने उहाँको भनाइ छ ।

सभापति थापाले दोषी जोसुकै भए पनि कानूनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने स्पष्ट पार्दै कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने बताउनुभयो । तर सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिने र राजनीतिक प्रतिपक्षीलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयाे ।

थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा केही सकारात्मक काम भए पनि नेपालको दीर्घकालीन हितसँग जोडिएका ठोस उपलब्धि आफूहरूले नदेखेको बताउनुभयो । यद्यपि भ्रमणका क्रममा भएका छलफल, सम्झौता र उपलब्धिबारे प्रधानमन्त्रीले देशवासीलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको माग छ ।

थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्न लागेकोतर्फ लक्षित गर्दै पार्टीको विधान विपरीत गतिविधि गर्नेहरूलाई विधानबमोजिम कारबाही हुने बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति