नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

ट्रम्पको ध्यान रुसभन्दा मध्यपूर्वमा धेरै केन्द्रित छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । बीबीसीसँगको एक अन्तर्वार्तामा उहाँले अमेरिकाबाट ब्यालेस्टिक मिसाइलहरू प्राप्त गर्न भएको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहेको बताउनुभयो ।

जेलेन्स्कीले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्य दबाव नदिएको गुनासो पनि गर्नुभएको छ ।

किएभमा रहेको आफ्नो मुख्य कार्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनलाई अँगालो हालेको तस्वीर पोस्ट गर्नु र पुटिनलाई ‘मेरा साथी’ भनी सम्बोधन गर्नु अनौठो कुरा भएको टिप्पणी गर्नुभयो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको ध्यान मध्यपूर्वतिर मोडिएको र त्यहाँका मानिसहरूलाई धेरै सहयोग उपलब्ध गराइरहेका उल्लेख गर्नुभयो ।

सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँग भएको तीखो भनाभनयता जेलेन्स्की अमेरिकासँगको सम्बन्धका विषयमा निकै सतर्क रहँदै आउनुभएको छ ।

ट्रम्पका दुई विशेष दूतहरू रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न तथा ठूलो मात्रामा भइरहेको मानवीय क्षति रोक्ने उद्देश्यले शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन् । यद्यपि कतिपय अवस्थामा उनीहरू युक्रेनको भन्दा रुसको अडानसँग धेरै नजिक रहेको देखिन्छ ।

हिजो बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोसल’ मा लेख्दै गएको हप्ता चीनमा पुटिनसँगको भेटघाटका क्रममा रुसलाई युरोपभरि भइरहेका सबै प्रकारका सैन्य आक्रमण बन्द गर्न आग्रह गरेको बताउनुभएको छ । उहाँले युक्रेनसँग शान्ति सम्झौता हुने बलियो सम्भावना रहेको पनि उल्लेख गर्नुभएको छ ।

यद्यपि रुसका सार्वजनिक भनाइहरूले वार्तामा ऊ आफ्नो शुरुआती, कठोर अडानमा फर्किएको र लगभग सबै विषयहरूमा आफ्ना पुराना मागहरूमा कायमै रहेको सङ्केत गर्छन् ।

प्रकाशित मिति:
थप विश्व