नव राज सिलवाल

प्रतिनिधिसभा सदस्य
ललितपुर-१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५९
प्राप्त मत
१९२७८
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नवराज सिलवालको जन्म बुबा वीरवहादुर सिलवाल र आमा ठूलीकान्छी सिलवालको कोखबाट भएको हो । उहाँको स्थायी घर ललितपुरको गोदावरीमा रहेको छ ।
२०४४ साल चैत २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका सिलवाल अध्ययनशील, अपराध अनुसन्धानमा दक्ष र समयअनुसार निर्णय गर्नसक्ने क्षमता भएका प्रहरीमध्ये गनिनु हुन्थ्यो । अपराध र अपराधीविरुद्ध शून्य सहनशीलता राख्ने सिलवालसँग आफ्नो सेवा अवधिमा देशको विभिन्न भूभागमा गएर काम गरेको अनुभव छ । उहाँ आफ्नो राम्रो कामका कारण चर्चित हुनुहुन्थ्यो ।


प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने क्रममा नवराज सिलवाल र जयबहादुर चन्दबीच राजनीतिक खिचातानी हुँदा तेस्रो वरियतामा रहेका चन्द आइजिपीमा बढुवा हुनुभएको थियो । चन्दविरुद्ध उहाँ अदालत पनि जानुभएको थियो । सर्वोच्च अदालतले उहाँलाई वरियता अनुसार बढुवा गर्नु भनेर आदेश त दियो तर उहाँ आइजीपी भने बन्न पाउनु भएन । त्यस समय आइजीपीका लागि दाबेदारहरुमध्ये वरियताको क्रममा एक नम्बरमा रहेका भनिएका सिलवाललाई सर्वोच अदालतले आईजीपी पदमा बहाल गराउन आदेश दिए पनि कार्यक्षमतामा उहाँलाई नै पछि पार्दै डिआइजी प्रकाश अर्याल आइजीपी हुनुभएको थियो ।


सिलवाल काठमाण्डौ प्रहरी प्रमुख हुँदा आपराधिक गतिविधिलाई न्यूनिकरण गरेका कारण चर्चामा आउनुभएको थियो । राजनीतिक पहुँच राखेर गुण्डागर्दी गर्नेहरुविरुद्ध उहाँले अपरेसन नै चलाउनु भएको थियो ।
त्यस्तै, दोस्रो संविधानसभा चुनावको क्रममा पूर्वक्षेत्रको कमाण्ड सम्हाल्न पुग्नुभएका उहाँले चुनाव सफलतापूर्वक गराउनु भएको थियो ।
उहाँले संगठनभित्र अनुशासन र मर्यादा सिकाउनु भयो । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, खराब काम गर्नेलाई कारबाही गर्ने बानी बसाल्नुभयो । घुस खाने प्रहरीविरूद्ध अभियानै चलाएपछि धेरै प्रहरीले जागिरबाट हात धुनुपरेको थियो । प्रहरी र समाजलाई जोड्ने कार्यक्रमहरू सञ्चालन गरेपछि अपराध नियन्त्रणमा प्रहरी–नागरिक सम्बन्ध बलियो बन्दा उहाँ नागरिकमाझ लोकप्रिय हुनुभएको थियो ।
एसएसपीबाट डीआइजीमा बढुवा हुँदा एक नम्बरमा रहेका सिलवालले केन्द्रीय अनुसन्धानको ब्यूरोको कमाण्ड सम्हालेलगत्तै थुप्रै बोल्ड र ऐतिहासिक कामहरु गर्नुभएको थियो । नक्कली डाक्टर र पाइलटविरुद्ध उहाँले अपरेसन नै चलाउनु भएको थियो । त्यो अपरेसनका कारण थुप्रै नक्कली डाक्टर तथा पाइलट पक्राउ परे भने केहीले डराएर पेशा नै छाडे ।


त्यस्तै, नेपालीहरुको एटिएम नम्बरको प्रयोग गरी रकम निकाल्ने विदेशीहरुलाई श्रृंखलाबद्ध रुपमा पक्राउ गर्ने काम पनि सिलवाल नेतृत्वको टिमले गरेको थियो । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३४ किलो सुन पक्राउ गरेपछि सिलवालको कार्यक्षमताको झन् उजागर भएको थियो । उहाँले सुन तस्करीमा संलग्न संगठनभित्रकै एसएसपी, भन्सारका कर्मचारी, अन्य दोषीहरुलाई पक्राउ गरेर आफ्नो योग्यता र कार्यक्षमताको नमुना पेश गर्नुभएको थियो । सिलवालको यो अपरेसनको सर्वसाधारणले पनि मुक्तकण्ठले प्रशंसा गरेका थिए ।


आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिनु भएको थियो । तर, लामो समयसम्म उहाँले दिनु भएको राजीनामा स्वीकृत भएन । राजीनामा स्वीकृत नभएकै अवस्थामा उहाँ २०७४ असोज २० गते नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउनु भएको थियो । नेपाल प्रहरीका पूर्व डिआइजी सिलवाल २०७४ सालको प्रतिनिधिसभाको चुनावमा ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार भइ विजयी हुनु भएको थियो ।