पुष्प कमल दाहाल {प्रचन्ड}

प्रतिनिधिसभा सदस्य
गोरखा-२

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६६
प्राप्त मत
२६१०९
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, नेकपा माओवादी केन्द्र
शैक्षिक योग्यता
कृषि तथा पशु विज्ञानमा स्नातक

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्म विसं २०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो ।
मुक्तिराम दाहाल र भवानी दाहालका छोरा ‘प्रचण्ड’ ले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका ‘प्रचण्ड’ २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन (चौम) मा प्रवेश गर्नुभयो । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका ‘प्रचण्ड’ २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित हुनुभयो ।


२०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका ‘प्रचण्ड’ २०४० सालमा अनेयुसंघको अध्यक्ष बन्नुभयो । युवक संघको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उहाँको यात्रा निकै तीब्र गतिमा अघि बढेको पाइन्छ ।
२०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बन्नुभयो । २०४२ मा पार्टी विभाजनपछि उहाँ मोहन वैद्य किरणतिर लाग्नुभयो । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात् ०४६ मा महामन्त्री बनेका ‘प्रचण्ड’ हालसम्म पार्टीको प्रमुख नै हुनुहुन्छ । २०७८ पुसमा भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पनि उहाँ अध्यक्षमै चयन हुनुभएको छ । यसअघि २०७४ सालको चुनावपछि एमाले र माओवादीको एकता भएर गठन भएको तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।


उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएपछि उहाँ २०६५ भदौमा पहिलोपटक प्रधानमन्त्री बन्नुभयो । संविधान सभाको दोस्रो निर्वाचन २०७० सालमा काठमाण्डौ १० बाट पराजित भए पनि सिरहा ५ बाट निर्वाचित हुनुभयो । २०७३ सालमा उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो । 
२०७४ सालको चुनावमा उहाँ चितवन क्षेत्र नम्बर ३ बाट विजयी हुनु भएको थियो । अहिले भने उहाँ गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको छ ।