चकमन्न रातमा पनि खुला पुस्तकालय, लोक सेवाको तयारी गर्ने विद्यार्थीको ‘केन्द्र’

 चैत २६, २०८० सोमबार १४:२०:३० | महेश ज्ञवाली
unn.prixa.net

साँझ परेर रात छिप्पिँदै जाँदा धेरै ठाउँमा चहलपहल घट्दै जान्छ । सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय र पसल बन्द हुन थाल्छन् । दिनभरको कामपछि मानिस घर फर्कन्छन् । भिडभाड हुने शहर बजार, गाउँका मेलापात, चौतारी सुनसान हुन्छन् । घरका झ्याल ढोका बन्द हुन्छन् । तर कीर्तिपुरमा रहेको देशकै सबैभन्दा पुरानो विश्वविद्यालयभित्रको केन्द्रीय पुस्तकालय भने रातभर खुला रहन्छ । रातको बेलामा केन्द्रीय पुस्तकालयको एक कोठाबाट सेतो उज्यालो बत्ती चम्किरहेको परैबाट देखिन्छ । बत्ती बलेको ठाउँमा केन्द्रीय पुस्तकालयको अध्ययन कक्ष छ । विद्यालयको कक्षाकोठामा जस्तै रातमा विद्यार्थी एकाग्र भएर पढिरहेका छन् ।

ओखलढुङ्गा मानेभञ्ज्याङका विशाल अधिकारी पनि अरू विद्यार्थीजस्तै कक्षाकोठाको एक टेबुलमा निजामतीको किताब पढ्दै हुनुहुन्छ । कीर्तिपुरकै ट्याङ्लाचोक बस्ने उहाँ हरेक दिन साँझ ७ बजेदेखि केन्द्रीय विश्वविद्यालयको पुस्तकालयको अध्ययन कक्षमा गएर बिहान २/३ बजेसम्म पढ्नुहुन्छ । त्यसपछि केही समय आराम गर्न कोठामा जानुहुन्छ । ४/५ घण्टा आराम गरेपछि बिहान १० बजेसम्म कोठामै बसेर पढ्नुहुन्छ । बिहानको खानापछि उहाँ फेरि पुस्तकालयमा फर्कनुहुन्छ र साँझ ६ बजेसम्म पढाइलाई निरन्तरता दिनुहुन्छ । त्यसपछि साँझको खाना खान कोठामा फर्कनुहुन्छ र फेरि अर्को चरणको पढाइका लागि बेलुकी ७ बजे नै पुस्तकालयमा फर्कनुहुन्छ ।

‘शुरु शुरुमा त रातभरि बसेर पढ्दा निकै गाह्रो भयो । पछि बिस्तारै बानी पर्दै गयो । पढ्न आउँदा थर्मसमा कफी पनि लिएर आउँछु । रातिको समय होहल्ला र भिडभाड कम हुन्छ, शान्त वातावरणले पढाइमा बढी एकाग्रता मिल्छ । त्यसैमाथि आफूभन्दा अग्रजको सरसल्लाह लिन पाइन्छ । नजानेको कुरा सोध्न र सिक्न पनि सजिलो भएको छ’, अधिकारीले भन्नुभयो, ‘रातको समयमा अरूले पढेको देखेपछि आफूलाई पनि पढ्न मन लाग्छ । मेरो प्रतिस्पर्धीले पढिरहेको देख्दा मैले किन नपढ्ने भन्ने विचार आउँछ । यसै कारण रातिको समय त्रिवि केन्द्रीय पुस्तकालयको अध्ययन कक्षमा पढ्न आउँछु ।’

दिउँसोको समयमा पनि केन्द्रीय पुस्तकालयका कोठा विद्यार्थीले भरिभराउ हुन्छन् । झन् गएको पुसदेखि पुस्तकालयको सेवा चौबीसै घण्टा खुल्न थालेपछि त रातिको समयमा पनि लोक सेवा तयारी गर्नेको रोजाइमा परेको छ । पुस्तकालयभित्रको अध्ययन कक्ष रातको समयमा लोक सेवाको तयारी गर्ने विद्यार्थीको केन्द्रजस्तै बनेको छ ।

कीर्तिपुर बस्ने सुर्खेत वीरेन्द्रनगरकी सीता लामिछाने पनि १८ घण्टा लोक सेवाकै तयारीमा बिताउनुहुन्छ । उहाँ बिहानको खाना खाएर त्रिवि पुस्तकालय जानुहुन्छ । बेलुका ५ बजे खाना खान कोठामा पुग्नुहुन्छ । ६ बजे फेरि पुस्तकालयको अध्ययन कक्षमा गएर बिहान ५ बजेसम्म पढ्नुहुन्छ । बैंकिङ क्षेत्रमा सरकारी जागिरे हुने लक्ष्यका साथ उहाँ एक महिनादेखि यसैगरी केन्द्रीय पुस्तकालयको अध्ययन कक्षमै रातभर बसेर परीक्षाको तयारी गरिरहनुभएको छ ।

‘मैले त घरबेटीलाई पनि पहिले नै राति लाइब्रेरीमै बस्छु भनेर कोठा लिएकी हुँ । कहिले २/३ बजे कोठामा जान्छु, कहिले एकैचोटि बिहान खाना खान पुग्छु’, लामिछानेले भन्नुभयो । ‘राति कोठामा बसेर पढ्दा मनमा धेरै कुरा खेल्छ, घरी मोबाइल चलाउन मन लाग्छ घरी सुत्न मन लाग्छ । यहाँ अरूले पढेको देखेर आफूलाई पनि पढ्न मन लाग्छ । अन्त कतै ध्यान जाँदैन’, उहाँले अनुभव सुनाउनुभयो ।

केन्द्रीय पुस्तकालयमा दैनिक पढ्न आउने एक हजारभन्दा धेरै विद्यार्थीमध्ये आठ सय जना लोक सेवाको तयारी गर्न आउने हुन्छन् । त्यसमा पनि अध्ययन कक्षमा रातभरि बसेर पढ्ने ३०/३५ जना जति हुन्छन् ।

कीर्तिपुर बस्ने कैलाली बर्दगोरियाका रमेश धमला पनि रातिकै समयमा लोक सेवा पढ्न पुस्तकालयको अध्ययन कक्षमै आउनुहुन्छ । स्नातक गरेका धमला अहिले नायब सुब्बाको तयारी गर्दै हुनुहुन्छ । ‘कोठाबाट आज यति तयारी गर्छु भनेर निस्कन्छु अनि त्यसैअनुसार यहाँ आएर तयारी गर्छु । इन्टरनेट सेवादेखि पढ्नलाई चाहिने सबै सामाग्री एकै ठाउँ पाइन्छ । यहाँ त बोल्न पनि पाइँदैन, न भोक लागेको थाहा हुन्छ न प्यास लागेको, रात कटेको पनि एकैचोटि उज्यालो भएपछि मात्रै थाहा हुन्छ’, धमलाले सुनाउनुभयो ।

अहिले केन्द्रीय पुस्तकालयमा चार लाख ३० हजारभन्दा बढी पुस्तकलगायत सन्दर्भ सामग्री छन् । यसबाहेक पत्रिका, साहित्य, लेख, रचनालगायतका लोक सेवा पाठ्यक्रमसँग सम्बन्धित अरू स्रोतको व्यापक सङ्ग्रह हुन्छ । पुस्तकालयमा ई–लाइब्रेरी सेवा पनि छ । ई–लाइब्रेरीअन्तर्गत विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थी र पढ्न रुचाउने सबैलाई आवश्यक पर्ने पाँच करोडभन्दा धेरै पुस्तक छन् । तर यी पुस्तक पढ्न पुस्तकालयको सदस्य बन्नुपर्छ ।

त्रिविका विद्यार्थीले एउटा फोटो, क्याम्पस वा आफूले पढ्ने विभागको सिफारिस र एक सय रुपैयाँ तिरेपछि पुस्तकालयको सदस्य बन्न सकिन्छ । त्रिविका विद्यार्थीबाहेक अरूले १५ सय रुपैयाँ बैंक डिपोजिट, एउटा फोटो र छ सय रुपैयाँ शुल्क तिरेपछि सदस्य बन्न पाइन्छ । यसरी सदस्यता लिएपछि पुस्तकालयको सेवा लिन सकिन्छ । सदस्य नबने पनि पुस्तकालयभित्र बसेर पढ्न मिल्छ । रातिको समय आउने विद्यार्थीले चाहिँ प्रायः आफैँले किताब लिएर आउने गरेका छन् ।

पुस्तकालय चौबीसै घण्टा खुल्न थालेपछि रातको समय पनि भीडभाड बढेको र सिटको कमी, सीमित स्रोत साधनका कारण चुनौती थपिएको विद्यार्थीको गुनासो पनि छ । यी समस्या समाधानका लागि काम भइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माले बताउनुभयो । केन्द्रीय पुस्तकालय नयाँ भवनमा सरिसकेपछि अहिलेको सेवा थप व्यवस्थित हुने र विद्यार्थीको आवश्यकता र माग पनि चाँडै पूरा हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया