नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष, एमालेले हीरक महोत्सव गर्दै

 बैशाख १०, २०८१ सोमबार ९:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष भएको छ । देशमा जहानियाँ राणा शासनको बेला २००६ साल वैशाख १० गते नेकपाको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कोलकातामा नीरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

स्थापनाकालदेखि नै कम्युनिष्ट पार्टीभित्र विवाद र फुट शुरु भएको थियो । कम्युनिष्टहरू पहिलोपटक २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर विभाजन भएका थिए । त्यसपछि कम्युनिष्ट पार्टीभित्र फुट र विभाजन भैरहेको छ । अहिले संसद् र संसद् बाहिर पनि थुप्रै कम्युनिष्ट पार्टी अस्तित्वमा छन् ।

संसदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी छन् । संसद्बाहिर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, गोपाल किराती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लगायत दर्जनौँ कम्युनिष्ट अस्तित्वमा छन् ।

यसैबीच नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारूढ नेकपा एमालेले हीरक महोत्सव आयोजना गर्दैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा आयोजना गर्न लागिएको हीरक महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्व प्रधानमन्त्रीहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतलाई निम्तो दिइएको एमालेले जनाएको छ ।

हीरक महोत्सवमा एमालेले राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवम् पूर्वपार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो । देशको लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन पुर्‍याएको योगदान र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागिएको एमालेको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया